इटहरीः कर्तव्य ज्यान अभियोग लागेका दुई अभियुक्तहरुले इलाका प्रहरी कार्यालय इटहरीमा आई आत्मसमर्पण गरेका छन् ।

आत्मसमर्पण गर्नेहरुमा इटहरी उपमहानगरपालिका १० घर भएका ३५ वर्षीय सुवास चौधरी र सोही ठाउँ घर भएका २५ वर्षीय विजय थापा भनिने मदन थापा रहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) अर्जुन केसीले बताए । उनका अनुसार अभियुक्तद्वयले इटहरी उपमहानगरपालिका १० का प्रकाश ढकालसँग मिली सोही ठाउँका ३२ वर्षीय कृष्ण ढकाललाई २०७५ साउन ९ गते रातको १०ः२० बजे कुटपिट गरी घाइते बनाएकोमा उपचारका क्रममा कृष्णको ज्यान गएको थियो । घाइते कृष्णको ज्यान गएपछि उनका तर्फबाट सुनसरीको धरान उपमहानगरपालिका ८ बस्ने ४७ वर्षीया दिव्या कार्कीले कुटपिटमा संलग्नहरुविरुद्ध दर्ता गराएको किटानी जाहेरीका आधारमा अभियुक्तहरुउपर कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।

घटना भएको मितिदेखि फरार रहेका अभियुक्तहरुमध्ये सुवास र मदन भारतको संघीय राजधानी नयाँदिल्लीमा गई बसेका थिए । भारतीय प्रहरीसँग सहकार्य गर्दै अभियुक्तहरुको फोटो र अन्य विवरण उपलब्ध गराई खोजी गरिरहेकोमा दुवै अभियुक्तहरुले चैत १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेको डीएसपी केसीले बताए । उनका अनुसार आत्मसमर्पण गरेका दुवै अभियुक्तहरुमाथि कर्तव्य ज्यान अभियोगमा जिल्ला अदालत सुनसरीबाट म्याद थप गराई अनुसन्धान अगाडि बढाइएको छ ।