इटहरीः सुनसरीको धरान उपमहानगरपालिका १४ स्थित गण्तन्त्र चौकबाट प्रहरीले एक जनालाई प्रतिबन्धित लागूऔषधसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३० वर्षीय दुर्गाबहादुर राई रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । आफ्नै घरबाट पक्राउ परेका राईको साथबाट प्रहरीले झोलामा लुकाई कालो टेपले बेरेर राखेको अवस्थामा लागूऔषध एभिल ६ एम्पुल, डाइजेल्याब ६ एम्पुल र लुपिजेसिक ६ एम्पुल गरी जम्मा १८ एम्पुल लागूऔषध बरामद गरेको कार्यालयको भनाइ छ । कार्यालयका अनुसार यसका अतिरिक्त अभियुक्तका साथबाट पाँच एमएल दरका पाँच थान सिरिन्जसमेत बरामद भएको छ ।

हिजो दिउँसो १२ बजे विशेष सूचनाको आधारमा परिचालित प्रहरीद्वारा पक्राउ गरिएका अभियुक्त राईउपर लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीका लागि जिल्ला अदालत सुनसरीबाट म्याद थप गराई हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।