काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ट नेता माधवकुमार नेपाल नयाँ पार्टी गठन गर्ने अन्तिम तयारीमा पुगेका छन् ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले खनाल–नेपाल समूहलाई पाखा लगाएर नै पुनर्स्थापित नेकपा एमाले चलाउने तयारी गरेपछि संसदको सबैभन्दा ठूलो पार्टी विभाजित हुने अवस्थामा पुगेको हो । यसका लागि नेता नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पु¥याउने अभियानमा आफू लागिसकेको भन्दै विभिन्न समानान्तर कमिटि गठन प्रक्रियालाई तिब्रता दिएका छन् । यसैबीच, नेता नेपालले बिहिबार पोखरामा आयोजित कार्यक्रममा केपी ओलीलाई हटाएर आफ्नै नेतृत्वमा केन्द्रीय कमिटी बनाउने घोषणा गरे । कास्की जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले केन्द्रीय कमिटीबाट केपी ओलीलाई हटाएर नयाँ कमिटी बनाउने भन्दै यो प्रक्रिया गाउँ गाउँसम्म पुग्ने घोषणा गरे । कार्यक्रममा नेता नेपालले कार्यकर्तालाई जिल्ला जिल्लामा संगठित हुन निर्देशन दिँदै कमिटीका बैठकहरू नियमित गर्नसमेत सुझाए । यसको तयारी स्वरूप खनाल–नेपाल समूहले यसअघिनै हरेक प्रदेशमा संयोजक तोकिसकेको छ।
नेता सुरेन्द्र पाण्डेलाई गण्डकी प्रदेशको संयोजक बनाएको छ । पाण्डेको संयोजकत्वमा गण्डकी प्रदेशका सबै जिल्लामा समानान्तर कमिटीसमेत गठन भइसकेका छन् । जस अनुसार कास्कीमा धनराज आचार्य, स्याङ्जामा रामचन्द्र भट्टराई, म्याग्दीमा बालकृष्ण सुवेदी, बागलुङमा इन्द्रलाल सापकोटा, पर्वतमा भक्त कुँवर, तनहुमा शंकरनारायण श्रेष्ठ अध्यक्ष चयन भएका छन् । यसअघि यो समूहले भीम आचार्यलाई प्रदेश १, घनश्याम भुसाललाई प्रदेश २, अष्टलक्ष्मी शाक्यलाई बागमती, युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली तथा भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ । यस्तै रघुजी पन्तले युवा, गोकर्ण विष्टले विद्यार्थी, प्रमेश हमालले बुद्धिजीवी र योगेश भट्टराईले प्रचार विभाग प्रमुखको जिम्मेवारी पाइसकेका छन् । यस्तै प्रदेश १ मा ताप्लेजुङ, पाँचथर, भोजपुर र खोटाङमा पनि समानान्तर जिल्ला कमिटी बनिसकेका छन् । यसरी नेपाल नेतृत्वको नेकपा एमालेले अब ७७ वटै जिल्लामा कमिटी बनाएर काम थाल्ने भएको छ ।
जिल्ला र प्रदेशमा मात्र नभएर खनाल–नेपाल समूहले जनवर्गीय संगठनमा पनि समानान्तर कमिटी बनाउन सुरू गरिसकेको छ। काठमाडौंमा चैत ४ र ५ को राष्ट्रिय कार्यकर्ता भेलापछि यो समूहले विद्यार्थी, महिला, युवा संघको राष्ट्रिय भेला गरेर केन्द्रीय कमिटी बनाइसकेको छ । यसअघि बुधबार मात्रै नेता नेपालले आफूपक्षीय युवा संघको केन्द्रीय कार्यालय उद्घाटन गर्दै नयाँ केन्द्रीय कार्यालय खोज्ने काम भइरहेको बताएका थिए । ‘हाम्रो पनि भवनको खोजी जारी छ । कतै राम्रो ठाउँ पाउनुभए खबर गर्नुहोला, त्यो भन्दा (थापाथलीको) पनि ठूलो र सानदार भवन हामीलाई चाहिन्छ । हामी धन्यवाद नै भन्ने छौं सहयोगका लागि,’ उनले भनेका थिए । यसबाट पनि अब नेता नेपालले चाँडै पार्टी खोल्ने निश्चित भएको छ । नेता नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पु¥याउने अभियानमा आफू लागेको बताएका हुन् । उनले कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न हुन नदिने, धारासायी हुन नदिने र विसर्जनको ठाउँमा पु¥याउन नदिने संकल्प समेत गरेका छन्। त्यसका लागि देशै भरका कम्युनिष्ट आन्दोलन र नेकपा एमालेका योद्धाहरु पार्टीको एकता, कम्युनिष्ट आन्दोलनको रक्षा र सबै खालका विकृति विसङ्गतिबाट मुक्त गरी क्रान्तिकारी रुवरुप दिने पक्षमा आफू रहेको पनि स्पष्ट पारे ।
‘हामी आन्दोलनलाई नयाँ उचाईमा नयाँ शिराबाट उठाउन चाहन्छौं । आन्दोलनलाई नयाँ शिराबाट नयाँ उचाईमा पु¥याउन चाहिरहेका छौं र हाम्रो सङ्कल्प छ कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न हुन दिने छैनौं, कम्युनिष्ट आन्दोलनलाई धारासायी हुन दिने छैनौं, कम्युनिष्ट आन्दोलनलाई विसर्जनको ठाउँमा पु¥याउन दिने छैनौं । यो हाम्रो सङ्कल्प हो । यो सङ्कल्पमा साथ दिनका लागि देशैभरिका कम्युनिष्ट आन्दोलनका योद्धाहरु, नेपाल कम्युनिष्ट पार्टी एमालेका योद्धाहरु यही चैत्र ४ र ५ गतेका दिनमा भेला हुनुभएको छ,’ उनले भने, ‘साढे चार हजार देखि ५ हजारको उपस्थितिमा भएको त्यो भेलाले घोषणा गरेको छ कि हामी कम्युनिष्ट पार्टीको एकताको पक्षमा छौं, कम्युनिष्ट आन्दोलनलाई सबै खालका विकृति विसङ्गतिबाट मुक्त गरेर क्रान्तिकारी स्वरुप दिने पक्षमा छौं र हामी आम जनताको आकर्षणको केन्द्र बनाएर जनताको यो धरोहरलाई, आस्थाको पुञ्जलाई सँधैभरी जीवन्त गराउने पक्षमा छौं । गतिशिल बनाउने पक्षमा छौं ।’ आफूहरुको विचार माक्र्सवाद र लेलिनवादबाट निर्देशित भएको र त्यही विचारको मार्गदर्शनमा अगाडि बढ्दै बहुदलीय जनवादको मूल्य र मान्यतालाई जगेर्ना गर्न चाहेको बताए ।
उनले आफूहरू सामाजिक न्याय सहितको आर्थिक रुपान्तरणको पक्षमा रहेको बताए। विचार, सङ्गठन, गतिशिलता, तार्किकता र व्यवहारमा उत्कृष्ट बन्न सके समाज परिवर्तन गर्न सकिने पनि नेता नेपालले स्पष्ट पारे । नेता नेपाल र उपाध्यक्ष भीम रावलसहित सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टीविरोधी गतिविधिमा केन्द्रित रहेको र स्पष्टीकरणको चित्तबुझ्दो जबाफ नदिएको भन्दै अध्यक्ष केपी ओलीले ६ महिनाका लागि निलम्बन गरेको पत्र पठाएका छन् । सर्वोच्च अदालतले फागुन २३ को फैसलापछि पार्टी २०७५ जेठ २ कै अवस्थामा फर्कियो । तर एमालेभित्रको विवाद र त्यसमा खनाल–नेपाल समूहले चालेका कदमलाई हेर्दा खनाल–नेपाल समूह भिन्दै पार्टी गठनको तयारीमा रहेको बुझ्न सकिन्छ । -सेतोपाटीबाट