इटहरीः झापाको भद्रपुर नगरपालिका ४ डाँगीबारीबाट प्रहरीले गएराति तीन जनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा अर्जुनधारा नगरपालिका ६ बस्ने ४० वर्षीय लोकेन श्रेष्ठ र भद्रपुर नगरपालिका १० बस्ने ३६ वर्षीय विनोद राजवंशी र २४ वर्षीय गोविन्द राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) राकेश थापाले बताए । उनका अनुसार हिजो राति करिब ८ बजे पक्राउ परेका अभियुक्तहरुका साथबाट प्रहरीले नौ ग्राम एक सय १० मिलिग्राम प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र सोको मापनका लागि प्रयोग गरिने डिजिटल तराजु बरामद गरेको छ ।

पक्राउ परेका दुवै अभियुक्तहरुलाई लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीका लागि झापा जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।