केन्द्रीय कारागार सुन्धारामा कैद चार्ल्स शोभराजको अन्तर्वार्ता विदेशी सञ्चारमाध्यममा प्रकाशित भएको छ ।

चार दशकअघि नेपालमा अमेरिकी र क्यानडाली महिलाको हत्या गरेको अभियोगमा पक्राउ परेका उनले विदेशी सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएपछि त्यसबारे अनुसन्धान गर्न १० दिनको समय मागिएको कारागार प्रमुखले बताएका छन् । शोभराजको जेलजीवन र उनका भावी योजनाबारे अन्तर्वार्तामा आधारित सामग्री आइतबार दुई बेलायती पत्रिकामा छापिएको थियो । अन्तर्वार्ता छापिएपछि नेपाल प्रहरीबाट सेवानिवृत्त भएका एक वरिष्ठ अधिकारीले कारागारमा ठूलो सुरक्षा कमजोरी देखिएको भन्दै त्यस्ता कमजोरी तत्काल समाधान नगरिए भविष्यमा दुर्घटना निम्तिन सक्ने चेतावनी दिएका छन् ।

गृह मन्त्रालयले कुनै पनि कैदीले सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिन मिल्ने कानुनी व्यवस्था नभएको भन्दै त्यसबारे अनुसन्धान जारी रहेको बताएको छ । मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भने, ‘गृह मातहतका कुनै पनि निकायले चार्ल्स शोभराजको अन्तर्वार्ता लिन कुनैपनि मिडियालाई अनुमति दिएको छैन ।’ कारागार व्यवस्थापन विभागले शोभराजको अन्तर्वार्ताका लागि केही विदेशी मिडियाले अनुमति मागेको भए पनि नदिइएको जनाएको छ । अन्तर्वार्ता छापिएपछि विभागले केन्द्रीय कारागारलाई तीव्र छानबिन का लागि निर्देशन दिएको जनाएको छ । केन्द्रीय कारागारका जेलर लक्ष्मी बाँस्कोटाले जेलभित्रबाट शोभराजको अन्तर्वार्ता कसरी सम्भव भयो भन्नेबारे छानबिन गर्न आइतबार नै सुरु हुनेगरी १० दिनको समय पाएको बताए । यस अवधिमा सत्यतथ्य पत्ता लाग्नेमा आफूहरू विश्वस्त रहेको उनको भनाइ छ ।

प्रारम्भिक अनुसन्धानले शोभराजले आफन्त तथा परिवारका सदस्यलाई एक हप्तामा बढीमा दुई पटक टेलिफोन सम्पर्क गर्न पाउने आधारभूत अधिकारको दुरुपयोग गरेको हुनसक्ने बताइएको छ । तथापि, यसबारे यकिन भइनसकेको जेलर बाँस्कोटाको भनाइ छ । त्यसका अतिरिक्त कारागारमा फ्रान्सेली भाषा अनुवादक नहुनुले पनि यस्तो समस्या निम्त्याएको उनको दाबी छ । -बीबीसीबाट