इटहरीः मोरङको विराटनगर महानगरपालिकास्थित बरगाछिमा रहेको लाइफगार्ड अस्पतालको आईसीयूमा उपचाररत एक बिरामी आज दिउँसो शौचालयको भेन्टिलेसन तोडेर फरार भएका छन् ।
फरार हुनेमा सुनसरीको देवानगञ्ज गाउँपालिका १ का २१ वर्षीय विनोदकुमार मेहता रहेको अस्पतालका प्रशासन प्रमुख निरज श्रेष्ठले बताए । उनका अनुसार गत चैत १८ गते विष सेवन गरेपछि इनरुवा अस्पतालमा उपचार हुन नसकी लाइफगार्डमा रिफर गरिएका मेहताको अवस्था सुधारोन्मुख रहेकोमा उनी अस्पतालबाट फरार भएका हुन् । आईसीयूमा लगाइने गाउनसहित फरार भएका मेहतालाई कसैले पनि नदेखेकाले हालसम्म फेला नपरेको बताउँदै प्रशासन प्रमुख श्रेष्ठले प्रहरीको सहयोगमा उनको खोजी भइरहेको बताए ।
बिरामी शौचालयको भेन्टिलेसन तोडेर फरार भएको अस्पतालको दाबीको बिरामीका आफन्तले भने खण्डन गरेका छन् । १० फिट अग्लो पर्खाल बिरामीले नाघ्न सम्भव नभएको भन्दै अस्पतालको कमजोर सुरक्षा व्यवस्थाका कारण आफ्ना भाइ अस्पतालबाट फरार भएको बिरामीका दाजु जयकृष्णको जिकिर छ ।