इटहरीः झापा र मोरङमा दुई जना लागूऔषध कारोबारी लागूऔषधसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा सुनसरीको इटहरी उपमहानगरपालिका २ का २५ वर्षीय अमृत मग्राति र झापाको दमक नगरपालिका ४ का २३ वर्षीय सुमन धिमाल रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय रानीको टोलीद्वारा विराटनगर महानगरपालिका १६ दरैयाबाट पक्राउ गरिएका मग्रतिका साथबाट प्रहरीले एभिल, लुपिजेसिक, डाइजेल्याप, फेनारगनसमेतका लागुऔषध बरामद गरेको छ ।
यसैगरी, वडा प्रहरी कार्यालय भद्रपुरको टोलीद्वारा झापाको भद्रपुर नगरपालिका ५ बाट पक्राउ गरिएका धिमालको साथबाट प्रहरीले फेनारगन २०, डाइजेपाम २० एम्पुल र लुपिजेसिक २० एम्पुल बरामद गरेको कार्यालयले जनाएको छ । पक्राउ परेका अभियुक्तहरुमाथि सम्बन्धित जिल्लाको जिल्ला अदालतबाट म्याद थप गराई सम्बन्धित प्रहरी कार्यालयको हिरासतमा राखी लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीका लागि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।