सिञ्जाः जुम्लाको तिला गाउँपालिका–९ ढिपुगाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् ।
७५ घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार आगो नियन्त्रणबाहिर छ । पर्याप्त पानी नभएका कारण आगो निभाउन सकिएको छैन । घरको छाना निकाल्ने र माटो हालेर आगो निभाउने लिने प्रयास भइरहेको उनले बताए । घरसहित र घरभित्र रहेका अन्नबाली सबै सखाप भइसकेको प्रहरीको भनाइ छ । आगो कसरी लागेको हो भन्ने विषयमा जानकारी लिने प्रयास भइरहेको छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी छ । तिला–९ ढिपुगाउँ वर्षायाममा छ महिना बस्ने बस्ती हो । यस समयमा हिमपात हुने र अत्यधिक चिसो हुने भएकाले सबै ढिपुगाउँमा बसेका छन् ।
मुल्लीमा वर्षायाममा भण्डारण गरिराखेको अन्नपात सबै जलेको हो । जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले आगलागी भएको खबर पाउनेबित्तिकै तत्काल उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आगलागी भएको घटनास्थलतिर पठाइसकेको बताए । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले तिला–९ ढिपुको मुल्लीमा आगलागी भई ३५ घर नष्ट भएको प्रारम्भिक खबरले दुखित तुल्याएको बताए । यसअघि तिला–७ पोखरीगाउँको गोठीमा आगलागी हुँदा ३१ घर जलेर नष्ट भएको थियो । यससँगै जुम्ला आगलागीको उच्च जोखिम क्षेत्र बनेको छ । सदरमुकामस्थित ढाण थपला सामुदायिक वन र कार्तिक स्वामी सामुदायिक वनमा आगलागी भएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो निभाउन सफल भएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । -रासस