इटहरीः सवारी दुर्घटनामा नक्कली चालक उपस्थित गराई सक्कली चालक भगाउने संघका दुई जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा विराटनगर–१२ का जीवन खनाल र सोही स्थानका ३३ वर्षीय नेत्रप्रसाद पाठक रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका अनुसार पक्राउ परेका यी दुवै अभियुक्त कोसी यातायात प्रा.लि. इटहरीका सञ्चालक समितिका सदस्य रहेको खुल्न आएको छ । यही चैत्र १२ गते सुनसरीको कोसी–८ तिनकुने राजमार्गमा ना ४ ख ५२९१ नम्बरको बसले मे ६ प ८००० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक इलाम ८ तिल्केनीका मेखबहादुर राई सख्त घाइते भएकोमाउनको मोरङको विराटनगरस्थित विराट नर्सिङहोममा चैत्र १३ गते उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटनापश्चात् तत्काल चालक फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय सुनसरीले उनको खोजी गर्दा कोसी यातायात प्रा.लि. इटहरीका सञ्चालक समितिका सदस्यद्धय जीवन र नेत्रप्रसादले सिरहाको लहान– ८ घर भई विराटनगर बस्दै आएका अमितकुमार गुप्तालाई बसको चालक भनी उपस्थित गराएका थिए ।
यता जिल्ला प्रहरी कार्यालय सुनसरीबाट उनिमाथि अनुसन्धान गर्ने क्रममा गुप्ताले आफू दुर्घटना भएको बसको चालक नभएको र मलाई ५० हजार रुपैयाँ दिने र सम्मानित अदालतबाट छुटकारा समेत दिलाई दिने भनी आर्थिक प्रलोभनमा पारी उपस्थित गराएको जानकारी गराएसँगै घटनाको यथार्थ पर्दाफास भएको हो । यसरी झुक्यानमा पारी नक्कली चालक उपस्थित गराएको पाइएपछि अभियुक्तद्वयलाई पक्राउ गरी सार्वजनिक गरिएको हो । पीडित पक्षलाई क्रियाखर्च क्षतिपुर्ति दिलाउनुपर्ने संस्थाको जिम्मेवार कर्मचारी तथा बसका सञ्चालक राजु थापा दायित्वबाट विमुख भई घटनालाई ढाकछोप गरी वास्तविक चालकलाई जोगाउन खोजेको हुँदा संघका प्रतिनिधिहरु र नक्कली चालक समेतलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीलाई उदृत गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।