इटहरीः मोरङको सुन्दरहरैचा नगरपालिका ७ गोठगाउँस्थित पूर्व पश्चिम राजमार्गमा हिजो भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्रदेश १ ०२ ०४३ प ३७९५ नम्बरको मोटरसाइकलका चालक मोरङको सुन्दरहरैँचा नगरपालिका १२ घर भएका ३५ वर्षीय महेन्द्र थापा रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । दिउँसो १ बजे पश्चिमतर्फ गइरहेको ना ४ ख ७३२३ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा ट्रकसँग ठोक्किएर थापा गम्भीर घाइते भएका थिए । उनलाई उपचारार्थ विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल पठाइएकोमा उपचारका क्रममा उनको हिजै साँझ ५ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीलाई उदृत गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दुर्घटना गराउने ट्रक र ट्रकका चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका ७ घर भएका निलकुमार तामाङलाई पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरिएको छ ।