इटहरीः आफ्नै अनुयायी महिलामाथि बलात्कारको आरोप लागी जिल्ला अदालत सुनसरीको आदेशमा गत मंसिर २२ गते सफाइ पाएका सिद्धबाबा भनिने सोलुखुम्बुका कृष्णदास गिरी आफूले पाएकै सफाइका विरुद्ध पुनरावेदन लिई उच्च अदालत विराटनगर पुगेका छन् ।

जिल्ला अदालत सुनसरीले ‘जाहेरवाली र प्रतिवादीबीच आदान–प्रदान भएका म्यासेजहरूबाट सहमतिमा शारीरिक सम्पर्क भएको भन्ने देखिएकोले अभियोग दाबीबमोजिम जबर्जस्ति करणीको कसुर कायम गर्न मिल्ने देखिएन’ भन्दै सिद्धबाबाले महिलालाई सहमतिमा भएपनि करणी गरेकै हो भन्ने देखिनेगरी सफाइ दिएकाले आफूले करणी गर्दै नगरेको भन्ने दाबीसहित सो आरोपबाट आफूलाई मुक्त गर्दै सफाइ दिनुपर्ने जिकिर लिई उनले पुनरावेदन दर्ता गराएका हुन् । सिद्धबाबाले आफूमाथि लागेको करणीको आरोप हट्नेगरी सफाइ दिनुपर्ने माग गर्दै हिजो बिहीबार पुनरावेदन दर्ता गराएको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले बताए । यता, जिल्ला अदालत सुनसरीको सफाइविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले गत फागुन २८ गते उच्च अदालत विराटनगरमै पुनरावेदन दर्ता गराइसकेको छ ।

सो पुनरावेदनउपर सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीशद्वय प्रेमराज ढकाल र रेनुका शाहको संयुक्त इजलासले चैत १३ गते १५ दिनभित्र अदालतमा उपस्थित हुन सिद्धबाबालाई आदेश दिएको छ । कानूनी भाषामा ‘झगडिया झिकाउने आदेश’ भनिने सो आदेश जारी भएलगत्तै आरोपी सिद्धबाबालाई हाजिर हुन भन्दै अदालतले म्यादसमेत तामेल गरिसकेको छ । अदालतले जारी गरेको म्यादभित्र उपस्थित नभए सिद्धबाबालाई प्रहरीले पक्राउ गरी अदालतसमक्ष पेस गर्नेछ । सिद्धबाबाले पनि सोही मुद्दामा पुनरावेदन दर्ता गराएकाले दुवै पुनरावेदन एकै ठाउँमा राखी सुनुवाइ गरिने सूचना अधिकारी सुवेदी बताउँछन् ।

२०७६ कात्तिक ४ गते राति करणी गरेको आरोपमा ३८ दिनपछि २०७६ मंसिर ११ गते गिरीविरुद्ध जाहेरी दर्ता भएको थियो । काठमाडौं बस्ने पीडित महिला पाथीभरा गएर फर्कने क्रममा गत वर्ष ३ कात्तिकमा चतरास्थित आश्रममा गएकी थिइन् । त्यही दिन बेलुका आफ्नो कोठामा बोलाएर बलात्कार गरेको पीडित महिलाको भनाइ छ । आफूले भोलिपल्टै उजुरी दिन खोजे पनि आफूलाई अनेक बहाना गरेर काठमाडौं पठाइएको ती महिलाको भनाइ छ । यो घटनाको अनुसन्धानमै चलखेल भएको थियो । सुरुमा सुनसरी प्रहरीले जाहेरी नै दर्ता गर्न मानेको थिएन । धम्की र प्रलोभन दिँदै उजुरी गर्न दबाब दिएपछि ती महिला पछि काठमाडौंमा आएर केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा जाहेरी दिएकी थिइन् । सिआइबीले जाहेरी दर्ता गरेर सुनसरी पठाएको थियो । घटना मिडियामा आएपछि गिरी पक्राउ परे । पक्राउ परेपछि हिरासत बस्न मानेनन् । बिरामीको नाटक गरेर अस्पताल बसेका थिए । जिल्ला अदालतले तीन लाख धरौटीमा छाड्ने आदेश दिएकोमा पछि उच्च अदालतले थुनामा राख्ने आदेश दिएको थियो । त्यसअघि नै भारत भागेका थिए । पछि अदालतमा उपस्थित भएर जेल चलान भएका थिए । सर्वाेच्चले पनि फैसला नआउन्जेल थुनामै राख्नुपर्ने आदेश गत १२ मंसिरमा मात्र दिएको थियो ।

सर्वाेच्चको आदेश आएको १० दिनमै हतारहतार फैसला गरी गिरीलाई सफाइ दिएको थियो । बलात्कारसम्बन्धी मुद्दामा सर्वाेच्च अदालतका विभिन्न नजीरले भन्छ– पीडितको भनाइ नै यसमा सबैभन्दा ठूलो प्रमाण हो । तर, यो मुद्दामा त्यसबाहेक अन्य प्राविधिक प्रमाणहरू हुँदाहुँदै पनि फैसलामा बेस्वास्ता गरिएको थियो । पीडितसँगको कुराकानीमा गिरीले अभियोग स्वीकार गरी माफी मागेका छन् । घटनाको केही दिनपछि पीडितलाई फोन गरी उनले माफी माग्दै अबदेखि यस्तो गल्ति नहुने भन्दै कतै उजुरी नगर्न आग्रह गरेका छन् । एक घन्टा २५ मिनेट लामो सो अडियोलाई अदालतमा पेस गरिएको थियो  । गिरीले त्यो अडियो आफ्नो नभएको दाबी गरेका थिए ।

तर, प्रहरीको विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा ६७.३७ प्रतिशत आवाज म्याच गरेको थियो । स्थानीय भोला बरालको मोबाइलबाट कुराकानी भएको थियो । बरालले आफ्नो मोबाइलबाट गिरीले फोन गरेको भनेर कागज गरिदिएका थिए । गिरीलाई तत्कालिन जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले १४ पुस २०७६ मा तीन लाख धरौटीमा पूर्पक्षका लागि छाड्ने आदेश दिएको थियो । जिल्लाको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले उच्चमा पुनरावेदन दिएको थियो । ९ माघ २०७६ मा उच्च अदालत विराटनगरमा मुख्यन्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको संयुक्त इजलासले जिल्लाको आदेश उल्टाउँदै थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्न आदेश दिएको थियो । अदालतमा मुद्दा सुनुवाइ भएकै दिन विराटनगर रानी हुँदै भारत पुगेका गिरी ४० दिनपछि हाजिर भएर थुनामा बसेका थिए । अदालतबाट सफाइ पाएका सिद्धबाबा हाल चतरास्थित आफ्नै आश्रममा फर्किएका छन् ।