काठमाडौँः गृह मन्त्रालयले नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागु हुनुअघि घोषणा भई कोभिड–१९ का कारण वितरण हुन नसकेको विभूषण मात्रै यस पटक सुशोभन गरिएको स्पष्ट पारेको छ ।
सुशोभन भएको विभूषणमा अंकित नेपालको नक्साका सम्बन्धमा केही सञ्चारमाध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले घोषणाको तयारी र वितरणको प्रस्तावित समय रहेका बेलाको नेपालको आधिकारिक नक्सा नै विभूषणमा अंकित भएको जनाएको छ । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुरयाउने व्यक्तिलाई वि.सं. २०७६ असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा भई २०७७ वैशाख १ मा वितरणको लागि तयारी गरिएको भए पनि कोभिड–१९ का कारण २०७७ वैशाख १ मा वितरण हुन सम्भव नभएकाले हालै मात्र उक्त सुशोभन भएको मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।
नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागु भएपछि घोषणा भएका विभूषणमा सोहीबमोजिमको नक्साअंकित भएको र यसको सुशोभन आगामी वैशाख १ गते गरिने पनि मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । -रासस