इटहरीः सुनसरीको धरान उपमहानगरपालिका ३ स्थित शान्तिपथमा आइतबार बेलुका साढे ५ बजे चेकजाँचको क्रममा प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा शहीदभूमि ६ का २० वर्षीय निगम राई र सोही स्थानका १९ बर्षीय शुक्रराज राई रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । को१३प ६७८२ नम्बरको मोटरसाइकलमा सवार भई आएका उनीहरुले बोकेको झोलाबाट लागूऔषध गाँजा २ केजी फेला परेको हो ।

उनीहरुले चढेको मोटरसाइकलसमेत नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय धरानलाई उदृत गर्दैै १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । अभियुक्तहरुलाई लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीका लागि जिल्ला अदालत सुनसरीबाट म्याद थप गराई अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ ।