इटहरीः कोसी राजमार्गअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका १ स्थित आदर्शमार्गको गेटअगाडि ७२ वर्षीय वृद्धलाई ट्रिपरले ठक्कर दिई ब्याक गरेर मारेको विरोधमा आज दिनभर इलाका प्रहरी कार्यालयअगाडि प्रदर्शन भएको छ ।

हिजो दिउँसो २ः३५ बजे धरान जाने बस पर्खेर बसेका कर्णबहादुर गुरुङलाई इटहरीबाट धरानतर्फ गइरहेको प्रदेश १ ०२ ००१ ख ८६६५ नम्बरको ट्रिपरले साइड लगाउनका लागि पछाडि सार्ने क्रममा गुरुङलाई ठक्कर दिएकोमा उनी घाइते भएका थिए । घाइते गुरुङलाई ट्रिपर चालक इटहरी १९ बस्ने २९ वर्षीय अनिल चौधरीले ट्रिपर ब्याक गरी किचेर मारेका थिए । घटनालगत्तै सडक अवरुद्ध पारी प्रदर्शनमा उत्रिएका स्थानीय तथा मृतकका आफन्तले मध्यराति १२ बजे प्रहरीले ट्रिपर चालकले नियतबस ब्याक गरेर मारेको मुचुल्का तयार गरेपछि मात्र शव बुझेका थिए । तर, ट्रिपर चालकले पटक पटक ब्याक गरेर मारेकाले चालकलाई कडा कारबाही, मृतकका आफन्तलाई क्षतिपूर्ति र ट्रिपर आतङ्क रोक्नुपर्ने मागसहित आज पनि प्रदर्शन भएको हो । प्रदर्शनकारीले दिनभर सडक आवागमन अवरुद्ध पारी सडकमा टायर बालेर प्रदर्शन गरेका थिए ।

साँझपख भने प्रहरीले लाठीचार्ज गरी प्रदर्शनकारीलाई तितरवितर पार्दै यातायात आवागमन सुचारु गराएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कमल थापाले ट्रिपर व्यवसायी र मृतकका आफन्तबीच वार्ता भएपनि निष्कर्षमा पुग्न नसकेकाले भोलि पुनः वार्ता गरिने भएको जानकारी दिए । ट्रिपरका चालक अनिल चौधरीलाई घटनालगत्तै प्रहरीले पक्राउ गरिसकेको बताउँदै एसपी थापाले चालकका बाबु नै ट्रिपर व्यवसायी रहेको जानकारी दिए ।