इटहरीः मोरङको सुन्दरहरैँचा नगरपालिका ७ गोठगाउँमा आज बिहान भएको सवारी दुर्घटनामा एक वृद्ध महिलाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा स्थानीय ७५ वर्षीया वृद्ध महिला मैयादेवी प्रधान रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले जानकारी दिए । उनका अनुसार पूर्व पश्चिम लोकमार्गमा पैदलयात्रा गरिरहेकी प्रधानलाई आज बिहान ४ बजे प्रदेश १ ०२ ००१ ख ८५३० नम्बरको ट्रिपरले ठक्कर दिएपछि उनी गम्भीर घाइते भएकी थिइन् । घाइते प्रधानलाई उपचारार्थ विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल पठाइएकोमा उपचारका क्रममा बिहान ६ बजे ज्यान गएको हो ।
दुर्घटना गराउने ट्रिपरका चालक उर्लाबारी नगरपालिका ३ का ३२ वर्षीय चुडामणि भण्डारीलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक ऋषिराज ढकालको नेतृत्वमा घटनास्थलमा खटिएको टोलीले नियन्त्रणमा लिएको एसपी खड्काले बताए । दुर्घटनालगत्तै आक्रोशित स्थानीयले टिपर सञ्चालनमा कडाइलगायका माग राखी सडक अवरुद्ध पारेकोमा एक घण्टापछि स्थिति साम्य भएको प्रहरीले जनाएको छ ।