इटहरीः झापाको शिवसताक्षी नगरपालिका–१ दूधेस्थित पूर्व पश्चिम लोकमार्गमा मा आज बिहीबार बिहान ४ः२० बजे एम्बुलेन्स दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा ना २१ च ७९८४ नम्बरको एम्बुलेन्सका चालक ललितपुरका ३० वर्षीय उत्सव घिमिरे रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता प्रहरी नायबउपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका घिमिरेलाई उपचारार्थ बिर्तामोडस्थित बी एन्ड सी अस्पताल पठाइएकोमा बाटैमा उनको ज्यान गएको हो ।
दुर्घटनामा परी एम्बुलेन्सका सहचालक ३० वर्षीय सन्तोष तामाङ गम्भीर घाइते भएकोमा उनको बी एन्ड सी अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ । घटनाका बारेमा विस्तृत अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट एम्बुलेन्स तिव्र गतिका कारण दुर्घटनामा परेको खुलेको छ ।