इटहरीः सुनसरीको धरानमा ड्युटीमा खटिएका प्रहरी हवल्दारलाई छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १३ बस्ने २१ वर्षीय रञ्जित तामाङ र धरान १५ बस्ने १९ वर्षीय राम परियार रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । कार्यालयका अनुसार हिजो बिहीबार दिउँसो १ः३० बजे बजार सुरक्षाका लागि धरान १५, बगरकोटस्थित सडकमा तैनाथ प्रहरी हवल्दार विजय यादवलाई अभियुक्तद्वयले छुरा प्रहार गरी घाइते बनाएका थिए ।
घटनालगत्तै इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अभियुक्तहरुलाई घटनामा प्रयोग भएको फलामको छुरासहित गिरफ्तार गरेको सो कार्यालयले जनाएको छ । पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गराई इलाका प्रहरी कार्यालय धरानकै हिरासतमा राखी ज्यान मार्ने उद्योगअन्तर्गत कारबाहीका लागि अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ ।