धरानः भारतले सुनसरीको नेपाली भूमिमा दादगिरी देखाउन थालेको छ ।
सुनसरीको नेपाली भूमिमा भारतको विहार सरकारको बोर्ड गाडेर नेपाली भूमिमाथि हस्तक्षप गरेको छ । भारतले सप्तकोसी सम्झौताविपरीत सुनसरीको बराहक्षेत्र नगरपालिका र कोसी गाउँपालिकामा पर्ने सप्तकोसीको पूर्वी तटबन्दका आदा दर्जन स्थानमा भारतको विहार सरकारको बोर्ड गाडेको हो । सप्तकोसीको भिमनगरमा नेपाल सरकार र भारत सरकारको संयुक्त साझेदारीको कोसी ब्यारेज निर्माण गरिएको छ । कोसी ब्यारेजको मर्मत, कोसीको पूर्वी र पश्चिम तटबन्ध निर्माण गर्दा नेपालसँगको साझेदारीमा मात्र भारतले निर्माणको काम गर्न पाउने सम्झौता भए पनि सप्तकोसीमा भारतले आफुखुसी काम गर्दै आएको छ ।
कोसी सम्झौताविपरीत नेपाली भूमिमा भारत सरकारको बोर्ड गाडेको स्थानीय सरकारले पत्तो पाएको छैन । नेपाली भूमिमा भारत विहार सरकारको बोर्ड गाडेपछि स्थानीय बासिन्दाले विरोध जनाएका छन् । बराहक्षेत्र नगरपालिकाका ९ का स्थानीय कृष्ण बहावले भारतको विहार राज्यस्थित संसाधन विभागले नेपाली भूमिका आधा दर्जन स्थानमा विहार सरकारको बोर्ड गाडेको बताए । उनले नेपाली भूमीमा गाडेका भारत सरकारको बोर्ड हटाएर नेपाली भूमिको रक्षा गर्न नेपाल सरकारसँग माग गरे । सुनसरीको इनरुवा नगरपालिकाका पूर्वमेयर तथा सीमाविद् गोपाल कोइरालाले भारतले दादागिरी देखाएर नेपाली भूमिमा विहार सरकारको बोर्ड गाड्नु कूटनीतिक मान्यताविपरीत भएको बताए ।
उनले तत्काल विहार सरकारको बोर्ड हटाउन नेपाल सरकारसँग माग गरेका छन् । भारतले सुनसरीका दक्षिण क्षेत्रमा सीमा मिच्नुका साथै उत्तर तर्फको भागमा समेत प्रवेश गरी विहार सरकारको बोर्ड गाड्नु अत्यन्तै गलत भएको उनको भनाइ छ । नेपाल–भारतबीच भएको कोसी सम्झौतापश्चात् सप्तकोसीमा ब्यारेज बनेपछि भारतले कोसी आसापासका क्षेत्रमा दादागिरी देखाउदै आएको छ । कोसी सम्झौता अनुसार सप्तकोसी नियन्त्रण गर्न गरिएको सम्पूर्ण काममा नेपाल भारत साझेदारीमा गर्नुपर्ने भएपनि भारतले एकलौटी रुपमा काम अगाडि बडाउँदा सुनसरी, उदयपुर र सप्तरीका हजारौ सर्वसाधारुण घर खेत बगाएर सुकुम्वासी बनेका छन् । बराहक्षेत्र नगरपालिका र कोसी गाउँपालिकाको कोसी किनारामा भारत सरकारको बोर्ड गाडेको विषयमा आफूलाई कुनै जानकारी नभएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । अन्नपूर्ण पोस्टबाट