इटहरीः गत फागुन १५ गते मोरङको केराबारी गाउँपालिका ७ नर्कटेमा रहेको एक विवाह घरमा आक्रमण गरी चार जनालाई घाइते बनाउनेमध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घटनाका मुख्य योजनाकार केराबारी ७ का २९ वर्षीय मुस्कान लिम्बू र ३० वर्षीय विश्वास लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले जानकारी दिए । उनका अनुसार अभियुक्तहरुमध्ये मुस्कानलाई सुन्दरहरैँचा र विश्वासलाई केराबारीबाट इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक ऋषिराज ढकाल नेतृत्वको टोलीले पक्राउ गरेको हो । यसै घटनामा संलग्न रहेको आरोपमा केराबारी ७ का २२ वर्षीय विशाल लिम्बू यसअघि नै पक्राउ परी मोरङ जिल्ला अदालतको आदेश अनुसार ज्यान मार्ने उद्योग, चोरी र डाँका मुद्दामा दुई लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पुर्पक्षका लागि मोरङ जिल्ला कारागार चलान भएको एसपी खड्काको भनाइ छ ।

bihe ghar

गत फागुन १४ गते शुक्रबार भागीमान लिम्बूकी २३ वर्षीया छोरी सम्झना लिम्बू र नुवाकोटका सुदीप राईबीच विवाह सम्पन्न विवाह सम्पन्न भएकोमा सोही दिन राति साउन्ड सिस्टम बजाउन पाउनुपर्ने भन्दै आएका केही युवाहरुलाई सम्झाई बुझाई फिर्ता पठाएकोमा पुनः होहल्ला गरेपछि प्रहरी परिचालित भई फरार भएका युवाहरुले नै शनिबार बिहान ३ बजे हातहतियारसहित घरमा प्रवेश गरी आक्रमण गरेका थिए । आक्रमणमा परी बेहुलीका बुवा ५९ वर्षीय भागीमान, दिदी ३० वर्षीया सविना लिम्बू (राई), कान्छा मामा केराबारी–९ का ४५ वर्षीय भगत याक्खा र बिहेमा बेहुलातर्फबाट जन्ती आएका भोजपुरको भोजपुर नगरपालिका–७ का ३३ वर्षीय रमेश राई घाइते भएका थिए ।

bhagiman

 

आक्रमणकारीहरुले विवाह घरबाट बेहुलीको नाममा जम्मा भएको दुई लाख ३५ हजार पाँच सय ४० रुपैयाँ नगद र बेहुलीले लगाएका करिब ५ तोला सुन र चाँदीका गरगहना गरी ६ लाख रुपैयाँ बराबरको धनमाल लुटपाटसमेत गरेका थिए । सो घटनापछि प्रहरीले केराबारी–७ का २८ वर्षीय मुस्कान चेम्जोङ लिम्बू, २५ वर्षीय निशान चेम्जोङ लिम्बू, ३० वर्षीय विश्वास लिम्बू, केराबारी–८ का २२ वर्षीय भाइराजा लिम्बू लगायतका व्यक्तिउपर किटानी जाहेरी दर्ता गरी खोजी तिव्र बनाएको थियो ।