इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका ६ स्थित हिरा होटलनजिकै हिजो साँझ भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा इटहरी–६ का ४५ वर्षीय वीरेन्द्र चौधरी रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार को ३३ प २४४० नम्बरको मोटरसाइकलमा सवार भई पूर्वबाट पश्चिमतर्फ गइरहेका चौधरीलाई विपरीत दिशातर्फ गइरहेको ना ५ ख ११११ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा चौधरी गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारार्थ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा साँझ ७ः३० बजे उपचारका क्रममा उनको ज्यान गएको डीएसपी तिम्सिनाको भनाइ छ । दुर्घटना गराउने बस र त्यसका चालक इटहरी १२ बस्ने सन्तोष विकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।