इटहरीः मोरङको विराटनगरस्थित भारतीय सीमावर्ति क्षेत्रबाट एक लाख तीन हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका ८ बस्ने ५५ वर्षीय नौसाद मियाँ रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले जानकारी दिए । उनका अनुसार अभियुक्त मियाँलाई विराटनगर १७ मटेरुवाबाट प्रहरीले पक्राउ गरेको हो ।
अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीद्वारा पक्राउ गरिएका मियाँको साथबाट पाँच सय दरका दुई सय ६ थान भारतीय नोट गरी एक लाख तीन हजार भारतीय रुपैयाँ बरामद गरिएको डीएसपी राईको भनाइ छ । पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालत मोरङको आदेशमा अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।