इटहरीः मोरङको विराटनगर महानगरपालिकास्थित सिंघिया खोलामा आज बिहान एक बालकको शव फेला परेको छ ।

शव फेला पर्नेमा विराटनगर ८ स्थित हाटखोला घर भएका ७ वर्षीय उलब बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईका अनुसार शनिबार साँझदेखि घरबाट हराइरहेका बालकको आज बिहान शव फेला परेको हो ।

मृतक बालकका पिता उपेन्द्र बस्नेत नेपाल प्रहरीमा कार्यरत रहेको डीएसपी राईले बताए । साथीहरुसँग खेल्ने क्रममा खोलामा गएका बालकको डुबेर ज्यान गएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।