काठमाडौँः ०७४ माघको पहिलो साता यूएईबाट आएको भनिएको साढे ३३ किलो सुन गायब र त्यससँगै जोडिएर भएको सनम शाक्य हत्या प्रकरणको अनुसन्धान जारी छ । सो प्रकरणमा प्रहरीका उच्च अधिकारी समेत अनुसन्धानमा तानिएका थिए । तर, अहिलेसम्म न हराएको सुन भेटिएको छ न त सुनका मुख्य लगानीकर्ता नै फेला परेका छन् ।

सोही घटनाको अनुसन्धानका क्रममा संगठित अपराधमा बहालवाला प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता समेत भएको थियो । अधिकांश आरोपीहरु धरौटी र केही साधारण तारेखमा छुटिसकेका छन् ।

उक्त साढे ३३ किलो सुन गायब भएपछि सुन लुकाएको आशंकामा चूडामणि उप्रेती ‘गोरे’को समूहले ०७४ फागुन १८ मा मोरङ, उर्लाबारीका सनम शाक्यको हत्या गरेपछि सुन तस्करी प्रकरण चर्चामा आएको थियो । सनमले गोरे समूहको आर्थिक कारोबार हेर्दै आएका थिए ।

सो समूहले उर्लाबारीको जंगलमा करेन्ट लगाएर सनमको हत्या गरेको भिडियो नै बाहिरिएको थियो । सनमकै हत्यापछि सुन प्रकरणको रहस्य बाहिरिएको थियो । प्रहरी अधिकारी नै सनम हत्या र सुन गायब प्रकरणमा जोडिएपछि गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरिएको थियो ।

टोलीले सुन तस्करीमा गोरे समूहको मुख्य संलग्नता रहेको र त्यसमा तत्कालीन अपराध महाशाखा, विमानस्थलका कर्मचारी, भन्सार कर्मचारी, विमानस्थलमा खटिएका प्रहरी अधिकारीको संलग्नता औँल्याएको थियो । लामो समय अनुसन्धान गरेको सो समितिले गायब भएको सुन कता छ भन्ने पत्ता भने लगाउन सकेन । हालसम्म पनि सो सुन कता छ भन्ने पत्ता लागेको छैन ।

सोही टोलीले गोरे समूहले साढे ३३ किलो मात्रै नभई विभिन्न समयमा ३८ क्विन्टल सुन तस्करी गरेको निष्कर्ष निकालेको थियो । यो प्रकरणसँग जोडिएका गोरे पनि पक्राउ परिसकेका छन् । अनुसन्धानका क्रममा पक्राउ परेकाहरुविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा चलाइएको थियो ।

अनुसन्धानकै क्रममा नेपाल प्रहरीका पूर्वडीआईजी गोविन्द निरौला, एसएसपी श्याम खत्री, तत्कालीन अपराध महाशाखाका एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सञ्जय राउत, सई बालकृष्ण सञ्जेललगायत पक्राउ परेका थिए । अधिकांश प्रहरीले भने अदालतबाट सफाइ पाइसकेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले केही फरार व्यक्तिको खोजीमा प्रहरी लागेको बताए । उनले बाह्खरीसँग भने, “गृहकै टोलीले अनुसन्धान गरेको हो । सनमको हत्या मोरङमा भएकाले मुद्दा यताबाट चलेको हो । यो विषय अदालतमा प्रवेश गरिसकेकाले धेरै कुरा अदालतबाटै जानकारी होला । कतिपय कुरामा प्रहरी आपसी समन्वयमा अगाडि बढिरहेको छ ।”

गृह मन्त्रालयले ०७४ चैत १९ गते सहसचिव पौडेलको संयोजकत्वमा अनुसन्धान टोली गरेको थियो । टोलीले तीन महिनासम्म अनुसन्धान गर्दा पनि सुन पत्ता लगाउन सकेन । समितिले ७७२ पृष्ठ लामो प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको थियो । सो प्रतिवेदन गोप्य राखिएको छ ।

अनुसन्धानको जिम्मा पाएको समितिले सरकारलाई प्रतिवेदन बुझाएपछि हराएको सुन खोज्ने र फरार अभियुक्त समात्ने जिम्मेवारी प्रहरीलाई दिएको थियो । तर, प्रहरीले भने सुन खोज्ने काम बन्द गरेको बताइन्छ ।

अनौपचारिक रुपमा सुन खोज्ने काम महानगरीय अपराध महाशाखालाई दिइएको थियो । तर, महाशाखाले यसबारे कुनै पहल नलिएको बताइन्छ । मोरङका एसपी खड्काले सुन खोज्ने काम प्रहरीका अन्य निकायले गरिरहेको बताए ।

गायब भएको सुन प्रकरणमा सनम शाक्यको हत्या भएको थियो भने सानु वनको ट्यांकर ठक्करबाट मृत्यु भएको थियो । विमानस्थलमा कार्यरत प्रेमलाल चौधरीले महानगरीय प्रहरी वृत्त सिंहदरबारको शौचालयमा आत्महत्या गरेका थिए ।

प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर भारतको कोलकातामा भारतीय प्रहरीले बरामद गरेको सुन नै नेपालबाट गायब भएको सुन भएको बताउँछन् । उनले भने, “त्यो सुन नेपाल ल्याउन पहल पनि गरेका हौँ । तर, सम्भव भएन । हामीले सोही सुन नेपालबाट गायब भएको भनेका छौँ । त्यसपछि हामीले खोज्ने काम गरेका छैनौँ ।”

सन् २०१८ मा कोलकातामा साढे ३३ किलो सुनसहित दुईजना पक्राउ परेका थिए । तर, भारतीय अधिकारीहरुले सो सुुन नेपालबाट नभई भुटानबाट आएको दाबी गरेका थिए । -बाह्रखरीबाट