इटहरीः झापाको दमक नगरपालिका ६ स्थित नमुना मार्गबाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको विहार राज्यअन्तर्गत किसनगञ्ज जिल्ला डिबलबैंक थाना सतकौवा पन्चायतका २६ वर्षीय सिद्धिक आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) राकेश थापाका अनुसार हिजो आइतबार दिउसो १ः३० बजे प्रहरीले चेकजाँचका क्रममा उनको साथबाट लागूऔषध ब्राउन सुगर २९ ग्राम १६० मिलिग्राम फेला पारी पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय दमकको टोलीद्वारा पक्राउ परेका अभियुक्त आलमउपर झापा जिल्ला अदालतको आदेश अनुसार हिरासतमा राखी लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीका लागि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।