इटहरीः मोरङको बुढीगंगा गाउँपालिका ४ स्थित कोसी राजमार्गमा मोटरसाइकलले ट्रकलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा को ९ प २६८१ नम्बरको मोटरसाइकलका चालक विराटनगर महानगरपालिका– १४ जतुवा का ४५ वर्षीय अञ्जनी सिंह रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका सिंहलाई उपचारार्थ विराट मेडिकल कलेज शिक्षण अस्पताल लगिएकोमा उपचारका क्रममा उनको ज्यान गएको हो ।

इटहरीबाट विराटनगरतर्फ गइरहेका सिंहलाई सोही दिशातर्फ गइरहेको ना ६ ख ३०४० नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा ठक्कर दिएको थियो । दुर्घटना गराउने ट्रक र त्यसका चालक बाराको निजगढ २ घर भएका ३२ वर्षीय भिमबहादुर विकलाई नियन्त्रणमा लिई घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।