इटहरीः मोरङको धनपालथान गाउँपालिका ४ स्थित भलुवा चौकमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा को २७ प ६४५९ नम्बरको मोटरसाइकलका चालक रङ्गेली नगरपालिका २ बस्ने २३ वर्षीय भोला शर्मा रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुमन तिम्सिनाका अनुसार मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटनापछि गम्भीर घाइते भएका चालक शर्मालाई उपचारार्थ कोसी विराटनगरस्थित कोसी अस्पताल लगिएकोमा बिहान ७ बजे उपचारका क्रममा उनको ज्यान गएको हो ।

चालक शर्मासँगै मोटरसाइकलको पछाडि बसेका रङ्गेली नगरपालिका ३ का २२ वर्षीय कास्मिक मुर्मु गम्भीर घाइते भएकोमा उनको कोसी अस्पतालमै उपचार जारी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।