इटहरीः सुनसरीको कोसी गाउँपालिका ४ स्थित जुद्धगञ्जबाट एक जना हतियारसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरीको कन्चनरुप नगरपालिका– १ का २४ वर्षीय जमाल भन्ने तालिम मन्सुरी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । उनलाई गएराति ९ः३० बजे अस्थायी प्रहरी पोष्ट शिव चौकबाट खटिएको प्रहरी टोलीले १ थान कटुवा पेस्तोल र २ राउण्ड गोलीसहित पक्राउ गरेको हो । मन्सुरी रोजा पर्व मनाउन ससुराली घर जुद्धगञ्जमा आएको अवस्थामा उनलाई विशेष सुराकका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालत सुनसरीको आदेश अनुसार हिरासतमा राखी प्रचलित कानुन बमोजिम मुद्दा चलाउन अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ ।