इटहरीः मोरङको केराबारी गाउँपालिका ३ स्थित बाघदले जंगलमा शिकारका लागि गएका एक युवकको आफैँले बोकेको भरुवा बन्दुक पड्किएर गएराति ज्यान गएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ घर भएका ३२ वर्षीय हस्त राई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक मानबहादुर राईका अनुसार गजेन्द्र राई र रुबिन लिम्बूका साथ सामूहिक रुपमा शिकारका लागि गएका हस्तको साथमा रहेको बन्दुक पड्किएर घटनास्थलमै ज्यान गएको हो । बुधबार राति नै घटना भएकोमा मृतकका साथमा गएका गजेन्द्र र रुबिनले नै इलाका प्रहरी कार्यालय केराबारीमा घटनाबारे जानकारी गराएपछि मात्र प्रहरी घटनास्थलतर्फ गएको प्रवक्ता राईको भनाइ छ ।

मृतकका दुवै साथीहरुलाई हिरासतमा लिई छानबिन अगाडि बढाएको प्रहरीले मृतकको शव पोष्टमार्टमका लागि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जानकारी दिएको छ ।