इटहरीः मोरङको कानेपोखरी गाउँपालिका २ मा चट्याङले लागेर एक महिलाको ज्यान गएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ घर भएकी ४० वर्षीया सुकवति राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईका अनुसार आफ्नै घरछेउमा रहेको बारीमा गाईवस्तु सार्न गएकी राजवंशीलाई बिहान ९ बजे परेको चट्याङ लागेको हो ।

चट्याङ लागेर गम्भीर घाइते भएकी राजवंशीलाई उपचारार्थ उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ ।