इटहरीः खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवास्थित राँगाकाटे भीरमा आज बिहान तिर्थयात्री बोकेको बस दुर्घटना हुँदा बसका सहचालकको घटनास्थलमै ज्यान गएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भएका अन्दाजी १८ वर्षीय अनिल तामाङ रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । सप्तरीको कञ्चनरुप नगरपालिकाबाट तिर्थयात्री लिएर खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित प्रसिद्ध तिर्थस्थल हलेसी दर्शनका लागि गएको बस दुर्घटना हुँदा अन्य २२ जना यात्रु घाइते भएको कार्र्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाले जानकारी दिए ।

उनका अनुसार घाइतेमध्ये नौ जनाको अवस्था गम्भीर रहेको छ । चालकसहित ३५ यात्रु सवार रहेको बस सडकको घुम्तिनजिकै पल्टिएर २० मिटर तल खसी सडकमै अड्किएको उनको भनाइ छ । दुर्घटनाका घाइतेहरुलाई स्वास्थ्यचौकी बाहुनीडाँडा र च्यास्मिटारका स्वास्थ्यकर्मीले प्राथमिक उपचार गरी थप उपचारका लागि उदयपुरको कटारी पठाएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।