इटहरीः झापाको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ ।
शनिबार बेलुका साढे ४ बजे कमल गाऊपालिका ४ सितापुरी चौक स्थितमा प्र १–०१–०१२ प १६०२ नम्बरको मोटरसाइकलले सोही स्थानका ६ वर्षीय बालक निश्चल खड्कालाई ठक्कर दिई घाइते बनाएको थियो । घाइते बालकको लाइफलाइन अस्पताल दमकमा उपचारको क्रममा बेलुका ५ बजे मृत्यु भएको छ ।
त्यस्तै, झापाको बिर्तामोड २ रामचौकस्थित पुर्व–पश्चिम राजमार्गमा मे१०प ५५२० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक अर्जुनधारा ९ का ३० वर्षीय सुमन थापा र पछाडि सवार अर्जुनधारा ७ की २७ वर्षीया सुसना राई घाईते भई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको थियो ।
घाइतेमध्ये सुसनाको उपचारको क्रममा बेलुका साढे ८ बजे मृत्यु भएको थियो भने अर्का घाइते सुमनको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।