इटहरीः गत वैशाख ८ गते मोरङको केराबारी गाउँपालिका ३ स्थित बाँसघारी राष्ट्रिय वनमा शिकार खेल्ने क्रममा आफैँले बोकेको भरुवा बन्दुक पड्किएर मृत्यु भएको भनिएका सोही ठाउँका ३२ वर्षीय हस्त राईको हत्या भएको खुलासा भएको छ ।

आफ्ना साथीहरु ३७ वर्षीय गजेन्द्र राई र २६ वर्षीय रुबिन लिम्बूका साथमा शिकार खेल्न गएका हस्तको सोही दिन राति ९ बजे गोलीको छर्रा लागि घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले बताए । उनका अनुसार हस्तको मृत्यु गजेन्द्रले मृग मार्न भनी चलाएको गोलीको छर्रा लागेर भएको हो । गजेन्द्रले चलाएको गोलीको छर्रा दायाँ कुममा लागी हस्तको ज्यान गएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको डीएसपी राईको भनाइ छ ।

हस्तको मृत्यु भएपछि उनीसँगै शिकार खेल्न गएका दुवै साथीहरुले भोलिपल्ट इलाका प्रहरी कार्यालय केराबारीमा आई आफैँले बोकेको बन्दुक पड्किएर हस्तको ज्यान गएको जानकारी दिएका थिए । तर प्रहरी अनुसन्धानले उनीहरुको दाबी गलत साबित भएको हो । घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा परिचालित प्रहरीले घटनामा प्रयोग भएको एक थान भरुवा बन्दुक बरामद गरेको जनाउँदै प्रवक्ता राईले पक्राउ परेका अभियुक्तमाथि कर्तव्य ज्यान र हातहतियार तथा खरखजाना अभियोगमा कारबाहीका लागि जिल्ला अदालत मोरङबाट म्याद थप गराई अनुसन्धान अगाडि बढाइएको प्रष्ट पारे ।