इटहरीः पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको इञ्जिनीयरिङ सङ्काय स्नातक तह दोस्रो सेमिस्टरको भौतिक शास्त्र विषयको परीक्षाको प्रश्नपत्र परीक्षाअगावै बाहिर पुर्याएको आरोपमा गएराति १० जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारी विराटनगर ८ का ४४ वर्षीय कोमलप्रसाद गौतम, विद्यार्थीहरू संखुवासभाको मादी नगरपालिका ६ का ३५ वर्षीय गोपाल कार्की, रुपन्देहीको तिलोचन नगरपालिका १२ का ३० वर्षीय विजय पोखरेल, गोर्खाको भीमसेन थापा गाउँपालिका १ का ३२ वर्षीय मिनप्रसाद भट्ट, गण्डागी गाउँपालिका ३ का ३१ वर्षीय भरत पन्त, सोही गाउँपालिका २६ वर्षीय विकास खड्का, सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका ४ का २९ वर्षीय नानीपथ मण्डल, सप्तरी बोदेबरसाइन नगरपालिका ७ का २९ वर्षीय जीवनकुमार यादव र सप्तरीको अग्नीसायर कृष्णसावरण गाउँपालिका ५ घर भई भक्तपुर लोकन्थली बस्दै आएका २६ वर्षीय महेश यादव रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले जानकारी दिए ।
उनका अनुसार अभियुक्तहरुमध्ये गोपाल कार्कीले प्रश्नपत्र अर्का अभियुक्त विजय पोख्रेललाई ८० हजार रुपैयाँमा बिक्री गरेका थिए । गोपालसँग खरिद गरिएको प्रश्नपत्र विजयले पछि अन्य अभियुक्तहरुलाई प्रतिव्यक्ति १० देखि २० हजार रुपैयाँमा बिक्री गरेको एसपी खड्काको भनाइ छ । कार्यालयका प्रहरी निरीक्षक पप्पु नायक नेतृत्वको टोलीले सुक्ष्म अनुसन्धान गरी पहिलो चरणमा जीवनकुमार यादवलाई पक्राउ गरेपछि अन्य अभियुक्त पनि फन्दामा परेका हुन् ।