इटहरीः सुनसरीका सबै पालिकालाई तीन दिनभित्र आइसोलेसन तयार गर्न जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले निर्देशन दिएको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकलको अध्यक्षतामा बसेको डीसीसीएमसीको बैठकले आइसोलेसन सेन्टरहरु बनाउन निर्देशन दिएको हो । देशभर कोरोना भाइरसको दोस्रो भेरियन्ट दिन प्रतिदिन बढ्दै गएकोले यसले जिल्लामा पनि महामारीको रुप लिन सक्ने कुरालाई मध्यनजर गर्दै आइसोलेसन सेन्टरलाई तयारी अवस्थामा राख्न निर्देशन गरिएको प्रेस विज्ञप्तिमार्फत् जिल्ला प्रशासन कार्यालय सुनसरीले जानकारी दिएको छ ।
सुनसरीका १० वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा भएको बैठकले विद्यालय पनि बन्द गर्ने निणर्य गरेको छ । जिल्लामा सञ्चालित सम्पूर्ण विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र पनि भोलि अर्थात् मंगलबारबाट बन्द गर्न निर्देशन दिएको छ । यसका साथै कक्षाहरु सञ्चालन गर्नुपरे शिक्षा मन्त्रालयले जारी गरेको वैकल्पिक शिक्षण प्रणाली अपनाई पठनपाठन गर्न पनि डीसीसीएमसीको बैठकले निणर्य गरेको छ । सरकारी तथा निजी कार्यालयहरु तथा बैंक तथा वित्तीय संस्थामा सामाजिक दूरी कायम गरेर र उच्च स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर सेवा प्रवाह गर्न पनि डीसीसीएमसीले निर्देशन दिएको छ ।
यसका साथै स्थानीय तहमा लाग्ने हाट बजारलाई निरुत्साहित गर्न पनि अनुरोध गरेको छ । त्यसको लागि स्थानीय तहले नियम गर्न डीसीसीएमसीले अनुरोध गरेको छ । कोरोना फैलन नदिन तत्काल जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अुनसन्धान जिल्ला कार्यालयका अधिकृत रहनेगरी अनुगमन समिति गठन गर्ने पनि बैठकले निणर्य गरेको छ । साथै जिल्लामा सञ्चालनमा रहेका उद्योग तथा कलकारखानाले आफ्नो कार्यालयमा कार्यरत कर्मचारीको १० प्रतिशत रहने गरी क्वारेन्टीन र आइसोलेसन सेन्टर बनाउन पनि निर्देशन गरेको छ । धार्मिक मठ मन्दिरमा आनावश्यक भिडभाड हुन नदिन पनि बैठकले निर्णय गरेको छ । साथै सोको नियमन र अनुगमन गर्न स्थानीय तहलाई अनुरोध गर्ने बताएको छ ।