इटहरीः मोरङको विराटनगर महानगरपालिका १६, दरैयास्थित भारतीय सीमावर्ति क्षेत्रबाट प्रतिबन्धित भारतीय नोटसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको विहार राज्यअन्तर्गत अररिया जिल्ला घर भएका २२ वर्षीय रुपेश ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । हिजो साँझ ५ः३० बजे बीआर ३८ टी ३४१० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रहरीले अभियुक्त ठाकुरका साथबाट पाँच सय रुपैयाँ दरका ७७ थान अर्थात ३८ हजार पाँच सय भारतीय रुपैयाँ बरामद गरेको कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले बताए । उनका अनुसार अभियुक्त ठाकुरका साथबाट प्रहरीले एक हजार दरका २६ वटा, पाँच सय दरका ४० वटा, एक सय दरका छवटा र १० रुपैयाँ दरको एउटा नोट गरेर ४६ हजार छ सय १० नेपाली रुपैयाँसमेत बरामद गरेको थियो ।
अभियुक्त ठाकुरले आफूसँग रहेको रकमको स्रोतसमेत खुलाउन नसकेको डीएसपी राईको भनाइ छ । अभियुक्त ठाकुरलाई आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । नेपालमा पाँच सय र दुई हजार दरका भारतीय मुद्रा खुला रुपमा बजारमा प्रयोग गर्न बोक्न सरकारले बन्देज लगाएको छ ।