इटहरीः गत वैशाख ८ गते बुधबार साँझ सुनसरीको इनरुवा नगरपालिका ४ बाट नक्कली नेपाली नोटसहित पक्राउ परेका नेपाली काङ्ग्रेस धरानका एक नेतासहित तीन जनालाई सजायबाट उन्मुक्ति दिलाउने प्रयास भएको छ ।
इनरुवा नगरपालिका ४ को स्टार होटल अगाडिबाट प्रहरीले धरान १७ बस्ने नेपाली काङ्ग्रेस धरानका उपसभापति महेन्द्र तामाङ, धरान १९ का टेकबहादुर तामाङ र सुनसरी हरिनगर गाउँपालिका वडा नं. २ का नजिम साफिलाई पक्राउ नक्कली नोटसहित पक्राउ गरेको थियो । उनीहरुका साथबाट प्रहरीले एक हजार दरका चार सय १५ थान नेपाली नोट अर्थात् चार लाख १५ हजार रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कमल थापाले बताए । उनका अनुसार पक्राउ परेका तीनै जना अभियुक्तहरुलाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको छ ।
जिल्ला अदालत सुनसरीबाट म्याद थप गराई उनीहरुउपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ अन्तर्गत मुद्रासम्बन्धी कसुरमा मुद्दा चलाउन अनुसन्धान अगाडि बढाइएको एसपी थापाको भनाइ छ । यता, नक्कली नोटसहित पक्राउ परेका नेपाली काङ्ग्रेस धरान नगर उपसभापति तामाङलाई कारबाहीबाट उन्मुक्ति दिन चलखेल सुरु भएको आरोप लाग्न थालेको छ । उपसभापति तामाङलाई बचाउन नेपाली काङ्ग्रेसकै पूर्वनगर सभापति किशोर राईले लबिङ गरिरहेको स्रोतले बताएको छ । स्रोतका अनुसार राईसहित तामाङ पक्षधर अन्य ‘हाइप्रोफाइल’ नेताहरुको सेटिङमा उनलाई उन्मुक्ति दिलाउने प्रयास भइरहेको छ । राई प्रदेश १ को प्रदेशसभा सदस्यको निर्वाचनमा पराजित भएका उमेद्वार हुन् । नेपाली काङ्ग्रेसनिकट भ्रातृ संगठन तरुण दलका धरान नगर समिति सदस्य योगेन बान्तवा आफ्नै संगठनको नेता भएपनि गैरकानूनी काममा संलग्नलाई कानून अनुसार कडा कारबाही हुनुपर्ने बताउँछन् ।