इटहरीः मोरङको जहदा गाउँपालिका १ बुधनगरस्थित एक घरमा विद्युत् चुहावट भई आज बिहान आगलागी भएको छ ।
स्थानीय लोकेश्वर सरवरियाको टिनको छानो र बाँसको बेराले बनेको चारकोठे घरमा भएको आगलागीबाट घर पूर्ण रुपमा जलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले जानकारी दिए । उनका अनुसार आगलागीमा परी घरभित्र रहेका सम्पूर्ण लत्ताकपडा, फर्निचर, खाद्यान्न, गरगहनाजस्ता सामान जल्दा १३ लाख ६४ हजार रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
आगलागीबाट मानवीय तथा चौपाया क्षति भने हुन नपाएको बताउँदै डीएसपी राईले स्थानीयवासी, प्रहरी र दमकलको सहकार्यमा आगलागी नियन्त्रणमा लिइएको जानकारी दिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।