इटहरीः मोरङका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । जिल्लाको लेटाङ नगरपालिका ८ स्थित जाँतेमा बसले किचेर एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा मिक्लाजुङ गाउँपालिका ५ का ५१ वर्षीय सहवीर मगर रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक सुमन तिम्सिनाका अनुसार पथरीबाट बिहीबार साँझ जाँते पुगेका मगरलाई आफैँ सवार रहेको को १ ख १९२४ नम्बरको बसले किचेपछि उनको घटनास्थलमै ज्यान गएको हो । दुर्घटना गराउने बसका बस र त्यसका चालक पथरीशनिश्चरे नगरपालिका–४ का ३३ वर्षीय गङ्गाप्रसाद लुइँटेललाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी निरीक्षक रोमन अर्याल नेतृत्वको टोलीले नियन्त्रणमा लिएको डीएसपी तिम्सिनाले जानकारी दिए ।

यसैबीच, त्यस्तै मोरङको बेलबारी नगरपालिका–८ चिसाङ पुुलमा गएराति मोटरसाइकलको ठक्करबाट एक जना ज्येष्ठ नागरिक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा बेलबारी नगरपालिका ३ घर भएकी ८३ वर्षीया मनमाया तामाङ रहेको डीएसपी तिम्सिनाले बताए । उनका अनुसार पूर्व–पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको नम्बर नखुलेको पहेँलो रङ्गको एफजेड मोटरसाइकलले ठक्कर दिँदा महिला गम्भीर घाइते भएकी थिइन् । घाइते महिलालाई उपचारार्थ विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल पठाइएकोमा उपचारका क्रममा उनको गएराति ८ः५० बजे ज्यान गएको बताउँदै प्रहरीले दुर्घटना गराउने मोटरसाइकल र चालक दुवैको खोजी तिव्रा पारिएको जनाएको छ ।