इटहरीः बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाभर साताव्यापी निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञा वैशाख १९ गते मध्यराति १२ बजेबाट सुरु भई वैशाख २६ गते मध्यराति १२ बजेसम्म कायम रहने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी जिल्लाभर निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाद्वारा हस्ताक्षरित निषेधाज्ञामा भनिएको छ ।

निषेधाज्ञा आदेशमा अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कने, कुनै पनि भेला, जुलुस, सभा, सम्मेलन, छलफल, गोष्ठी नगर्ने, हाट, बजार, मेला, जात्रा, महोत्सव, पार्टी, भोज लगायतका भीडभाडजन्य कार्य नगर्ने नगराउने आदि प्रावधानहरु राखिएका छन् । निषेधाज्ञा आदेशपछि जिल्लामा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, मनोरञ्जनस्थल, सैलुन, ब्युटिपार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदिको सञ्चालनमा पूर्ण रुपमा बन्देज लागेको छ ।

jhapa nishedhagya.