काठमाडौँः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड—१९ को संक्रमणका कारण मारमा परेका नागरिक, श्रमिक र साना व्यवसायीलाई आवश्यक राहत र सहयोगको कार्ययोजना ल्याउन सरकारसँग आग्रह गरेका छन् ।

उनले अन्तरर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै कोभिड—१९ को बढ्दो संक्रमणका कारण जनताले भोगिरहेका समस्याबाट पार पाउन संक्रमण रोकथाम र उपचारको समुचित प्रबन्ध मिलाउन आग्रह गरेका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले लकडाउनका कारण आर्थिक–सामाजिक मारमा परेका नागरिक, श्रमिक र साना व्यवसायीको जीवन कष्टकर बन्दै गएकाले आवश्यक राहतको कार्ययोजना ल्याउन सरकारसँग आग्रह गरेका हुन् ।

उनले संक्रमणबाट मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गएको र बढ्दो संक्रमणसँगै आईसीयू बेड, भेन्टिलेटर र अक्सिजनको टड्कारो अभाव देखिन थालेको बताउँदै यस्तो परिस्थिति आउनामा सरकार जिम्मेवार रहेको आरोप लगाएका छन् । -रासस