इनरुवाः सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव बलात्कारको अभियोगमा प्रहरी हिरासतमा पुगेपछि अधिकारसम्पन्न बनेकी सो गाउँपालिकाकी उपाध्यक्ष पुनमकुमारी मेहताले सरकारी निर्णयको धज्जी उडाउँदै निषेधाज्ञाका बीच आफनो अधिनमा रहेको विभिन्न शीर्षकका बजेटहरु देखावटि रुपमा खर्चँदै अनियमितता गरिरहेको पाइएको छ ।
कोरोनाको संक्रमण नियन्त्रणबाहिर जान थालेपछि देशका विभिन्न जिल्लामा गरिएको निषेधाज्ञा सुनसरीमा समेत लागु रहेपनि सोको धज्जी उडाउँदै भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष मेहताले आज शनिबार गाउँपालिकानजिकै रहेको लोटस होटलमा आयोजित गाउँपालिकाकै दुई वटा कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भएकी छन् । शनिबार बिहानबाट जारी ती कार्यक्रमहरुमा उपाध्यक्ष मेहतासहित गैर सरकारी संस्थाका पदाधिकारी एवं तीन दर्जनभन्दा बढी युवायुवतिको सहभागिता रहेको थियो । सुनसरी प्रशासनले जिल्लाभित्र कुनै पनि किसिमको गोष्ठी, सेमिनार, तालिम लगायतका गतिविधिहरुमा पूर्ण रुपमा प्रतिबन्ध लगाएपनि सो गाउँपालिकाकी उपाध्यक्ष मेहता र केही गैर सरकारी संस्थाको मिलोमतोमा लाखौं रुपैयाँ बराबरको गाउँपालिकाको रकम कागजमै खर्चिने क्रम बढेको सो क्षेत्रका स्थानीयहरु बताउँछन् ।
उपाध्यक्ष मेहतालाई महिला बालबालिका तथा न्यायिक समितिसँग सम्बन्धित बजेट खर्च गर्ने पूर्ण अधिकार गाउँपरिषद्ले दिएर उनीमार्फत् नै सोसम्बन्धी विभिन्न कार्यक्रमहरु गैरसरकारी संस्थामार्फत् चल्दै आएको छ । सो गाउँपालिकाका अध्यक्ष मेहन्द्रप्रसाद यादव प्रहरी नियन्त्रणमा गएदेखि एकलौटि गर्न थालेकी उपाध्यक्ष मेहताले केही दिनयता निरन्तर लाखौंको कार्यक्रम विभिन्न ठाउँमा गराउँदै आएको समाचार श्रोतहरु बताउँछन् । श्रोतका अनुसार उपाध्यक्ष मेहताले आफूनिकट व्यक्तिहरुलाई ५० प्रतिशत बाँडफाँट हुने गरी विभिन्न कार्यक्रमहरु दिने र सो कार्यक्रमको प्रमुख आतिथ्य गर्ने गरेकी छन् । गत वर्षसमेत उनको भागमा गाउँपालिकाका अध्यक्ष यादवले चित्तबुझ्दो भागबन्डा नदिएपछि उपाध्यक्ष मेहताले लिखित रुपमै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत उमेश घिमिरेसँग खर्चबारे हिसाबकिताबसमेत मागेकी थिइन् ।
केही समयको विवादपछि दुवैबीच भएको सहमति अनुसार उपाध्यक्ष मेहताका निम्ति छुटयाइएको ३० लाख बढीका विभिन्न कार्यक्रमहरु मेहताले आफूनिकट व्यक्तिहरुबाट कागजी रुपमा गराई ठूलो रकम अनियमिततासमेत गरेको श्रोतको दाबी छ । शनिबार भोक्राहानरसिंह गाउँपालिकाको लगभग तीन लाख बजेटबाट लौकहीको ग्रामिण बहुउद्देश्यीय व्यवस्थापन तथा सहकार्य केन्द्र (आरयुटीई) को आयोजनामा लैङ्गिक हिंसा न्यूनीकरणका लागि सचेतना अभिवृद्धि कार्यक्रम सरकारले गरेको निषेधाज्ञाका बीच उपाध्यक्ष मेहताको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको छ । आजै एकै हलमा अर्को एक कार्यक्रममा समेत उपाध्यक्ष मेहता सहभागी भएकी थिइन् । लैङ्गिक हिंसासम्बन्धी सो कार्यक्रमको बजेटसमेत उपाध्यक्ष मेहताले नै सिधा खर्च गर्ने छिन् । यसअघिसमेत उनले विभिन्न व्यक्तिहरुबाट मोटो रकम हात पारी लाखौंको रकम कार्यक्रमको नाममा बाँडिसकेकी छन् ।