इटहरी: मोरङ र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । मोरङको ग्रामथान गाउँपालिका २ मा ट्रिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ग्रामथान गाउँपालिका ५ बस्ने ३५ वर्षीय नरेश माझी रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

आज दिउँसो पौने १ बजे ग्रामथान–२ स्थितमा को १ क ३३४५ नम्बरको टिपरले को २९ प ४१७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक माझी गम्भीर घाइते भएका थिए । उनलाई उपचारार्थ विराटनगरस्थित न्युरो अस्पताल पठाइएकोमा उपचारको क्रममा साढे १ बजे मृत्यु भएको कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए । उनका अनुसार दुर्घटना गराउने ट्रिपर र त्यसका चालक सुनसरीको बर्जु गाउँपालिका–५ का जयनारायण चौधरीलाई नियन्त्रणमा लिई घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको उनको भनाइ छ । यसैगरी, झापाको बिर्तामोड नगरपालिका ४ का २० वर्षीय सन्दीप अधिकारीको दुर्घटनाबाट मृत्यु भएको छ ।

आज दिउँसो साढे २ बजे बिर्तामोडको पारिजात टोलमा मे १ त ७००५ नम्बरको ट्रयाक्टर बालुवा अनलोड गर्नको लागि पुगेकोमा ब्याक गर्ने क्रममा ट्रयाक्टरको डाला पल्टिँदा ट्रयाक्टरमा रहेका सहचालक अधिकारीको मृत्यु भएको डीएसपी तिम्सिनाले बताए । उनका अनुसार ट्रयाक्टर र चालक सोही स्थानका अनिल खड्का जिल्ला प्रहरी कार्यालय झापाको नियन्त्रणमा रहेका छन् ।