सङ्खुवासभाः पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा १० महिनाको अवधिमा ४६ वटा मानवअधिकार हननका घटना भएका छन् । ती घटनामध्ये गत वर्षको तुलनामा यस वर्ष बलात्कारका घटना बढेका छन् ।
बुधबार सदरमुकाम खाँदबारीमा अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको कार्यक्रममा यस्तो जानकारी दिइएको हो । सन् २०१८ को जनवरीदेखि अक्टोबर महिनासम्मको १० महिनाको अवधिमा जिल्लामा बलात्कारका ३० वटा घटना भएको इन्सेक इन्सेक जिल्ला प्रतिनिधि बाबुराम बास्तोलाले बताए । महिला २ र बालिका ८ जना गरी १० वटा बलात्कारका घटना, बलात्कार प्रयासका १८ वटा र यौन दुव्र्यवहारका २ वटा घटना भएको बताइएको छ । त्यस्तै, हत्यामा ५, हत्या प्रयासमा ३, घरेलु हिंसा १, कुटपिटको धम्की २, मानव बेचबिखन १ र बहुविवाह ४ गरी कुल ४६ वटा मानवअधिकार हनन्का घटना सार्वजनिक भएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले जिल्लामा बलात्कारका घटना बढ्नु दुःखद भएको बताए । उनले नागरिकका अधिकार तथा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका विषयमा समेत प्रतिवेदनमा उल्लेख गरिएको भन्दै बनेका कानुन कार्यान्वयनमा जोड दिए । पहुँच नभएका र पछाडि पारिएका नागरिकहरूको आवाज पनि मानव अधिकारकर्मीले उठाउनु पर्ने भन्दै मानव अधिकार वर्ष पुस्तकमा समावेश गर्न सुझाव दिए ।
खाँदबारी नगरपालिका न्यायिक समिति संयोजक डेगेश्वरी श्रेष्ठले विविध कारणले न्यायिक समितिमा घटना दर्ता हुन आउन नसकेको बताइन् । उनले जिल्लामा बलात्कारका घटना बढ्नुको कारण के हो भनी खोज्ने जिम्मा स्थानीय तहलाई भएको उल्लेख गरिन् ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले मानव अधिकारको विषयवस्तु गहन भएकाले सबै नागरिक सम्मानित, स्वतन्त्र र मर्यादित रूपमा बाँच्न पाउनु मात्रै नभई स्वच्छ वातावारणमा बस्न पाउनु, विकासको अधिकार अनुभूति गर्नु पनि मानव अधिकार भएको बताए । उनले वर्ष पुस्तक मानव अधिकारको दस्तावेज भएकाले यसमा प्रकाशन हुने कुरा सत्यतथ्य हुनुपर्ने सुझाव दिए ।
पत्रकार महासङ्घ सङ्खुवासभाका सभापति इन्द्र गिरीले द्वन्द्वकालमा मानव अधिकारको अवस्थाका बारे जोखिम मोलेर भए पनि वर्ष पुस्तक प्रकाशन हुने गरेको स्मरण गरे । गिरीले छुटेका घटना प्रहरीसँग समन्वय गरी सङ्कलन गर्न सुझाए । जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक रामजी कटुवालले नागरिक समाज, राजनीतिक दल र पीडित पक्ष सबैको सहयोगबाट मात्रै मानव अधिकार उल्लङ्घनका घटनामा कमी आउने बताए ।
चेतनाको कमीले केही घटनाहरू प्रहरीमा ढिलो गरी आउने गरेको अनुभव उनले सुनाए । उनले आत्महत्याको दर जिल्लामा अत्यधिक भएको भन्दै आत्महत्या हुनुको कारण कसैले नखोजेको बताए । कारण खोज्न उनले मानव अधिकारकर्मीहरूलाई आग्रह गरे ।