इटहरीः बुढासुब्बा गोल्डकपको २३ औ संस्करण आगामी जेठमा हुने भएको छ । चैत्र २६ गतेबाट गर्ने तयारी भएपनि प्राविधिक समस्याका कारण गोल्डकपको मिति सरेको हो ।

केही दिन अघि प्रदेशपोर्टलमा प्रकाशित ‘बुढासुब्बा गोल्डकपको पुरस्कार मनाङ र पुलिसले पाएनन्, २३ औ संस्करण अन्यौलमा’ बिषयक समाचारको बारेमा प्रतिक्रिया जनाउँदै बुढासुब्बा गोल्डकप आयोजक समितिका महासचिव प्रताप तामाङ र कोषाध्यक्ष घनश्याम बुढाथोकीले पाउनुपर्ने सहयोग रकम नआउँदा विजेता र उपविजेता टोलीलाई पुरस्कार दिन समस्या भएको बताए ।

‘ शेरधन राई मुख्यमन्त्री हुँदा १० लाख रुपैया प्रदेश सरकारबाट र ५ लाख राष्ट्रिय खेलकुद परिषदबाट आउथ्यो ।’ तामाङले भने ‘ प्रदेश सरकारबाट स्वास्थ्य विभाग इनरुवा मातहतबाट आउथ्यो । राखेपले सिधै क्लबको खातामा हाल्थ्यो । तर प्रतियोगिता लगतै कोभिडको संक्रमण सुरु भएपछि पैसा पाउन सकेनौ । ’

उनले राखेप सदस्य सचिव रमेशकुमार सिलवालको वहिर्गमनसंगै पाउनुपर्ने सहयोग रकम नआउनेमा शंका व्यक्त गरे । ‘पदवहाली भएको भए पुरानो ५ लाख र नयाँ ५ लाख दिनुहून्थ्यो होला । तर उहाँ हटेपछि आउने आश पनि म¥यो ।’

तामाङले प्रदेशबाट ५ लाख रुपैया विनियोजन भएको जानकारी पाएपनि आफुहरुले हालसम्म नपाएको गुनासो गरे । कोषाध्यक्ष बुढाथोकीले मनाङ र पुलिसलाई दिनुपर्ने पुरस्कार रकम दिएपछि मात्रै २३ औ संस्करण हुने बताए । बुढाथोकीले भने ‘ स्थानीय तहको चुनावपछि जेठमा प्रतियोगिता गर्ने तयारी छ । मनाङ र पुलिसलाई दिनुपर्ने पुरस्कार रकम दिएर मात्रै अर्को संस्करण हुनेछ ।’

उनले पुरस्कार रकम उपाधि जितेको केही समय भित्रै दिइदै आएकोमा कोभिड संक्रमणको कारण २२ औं संस्करणमा समस्या परेको बताए । यसअघि धरान उपमहानगरपालिकाले क्लबलाई रकम दिएर प्रतियोगिता आयोजना हुन्थ्यो । आगामी संस्करणबाट स्थानीय सरकारले सोझै विजेता र उपविजेताको पुरस्कार दिने महासचिव तामाङले बताए । ‘ धरानले आगामी संस्करणमा १८ लाख दिन्छ विजेता र उपविजेतालाई १५ लाख र बाँकी रहेको ३ लाख आयोजक टिमको तयारीका लागि । ’

र, यो पनि

बुढासुब्बा गोल्डकपको पुरस्कार मनाङ र पुलिसले पाएनन्, २३ औ संस्करण अन्यौलमा