इटहरीः गत असार १२ गते अर्जुनधारा नगरपालिका – ४ जुकेखाडी भन्ने स्थानमा बोरामा पोको पारेर ह्युमपाइप भित्र फालेको अवस्थामा मृत भेटिएका भारतको भारतको गुजरात राज्यस्थित अहमदावाद शहरको कुवेरनगरका ४० वर्षीय नरेशकुमार बाबुको हत्यामा संलग्न रहेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका ६ का २४ वर्षीय शैलेश सापकोटा रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार सापकोटालाई भारतको सिक्किमबाट पक्राउ गरिएको हो । हत्याकी मुख्य योजनाकार जानुकादेवी थापाकी फुपूका छोरा रहेका सापकोटालाई योजनाकार थापाले हत्याको सुपारीस्वरुप एक लाख रुपैयाँ दिएर हत्या गर्न लगाएकी थिइन् ।
हत्याकी मुख्य योजनाकार अर्जुनधारा नगरपालिका ७ की जानुकादेवीसहित हत्यामा संलग्न अन्य अभियुक्तहरु जानुकाकै पति बिर्खबहादुर थापा र सुनसरीको बराहक्षेत्र नगरपालिका १० का २५ वर्षीय सुरेश परियार यसअघि नै पक्राउ परिसकेका छन् । उनीहरुको बयानका आधारमा प्रहरी अर्का अभियुक्त सापकोटासम्म पुगेको हो । जानुकाले नरेशकुमारको हत्या गर्न सुपारीस्वरुप ५ लाख रुपैयाँ खर्च गरेकी थिइन् । अभियुक्तहरुले जानुकाकै घरमा आएका बेला नरेशकुमारलाई मादकपदार्थ सेवन गराएर हथौडाले टाउकोमा हानेर हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
भारतमा अलपत्र परका बखत मृतक नरेशकुमारले नै हत्याकी योजनाकार जानुकालाई उद्धार गरी नेपाल पठाइदिएकोमा त्यसपछि उनीहरुबीच सम्बन्ध नजिकिएको थियो । प्रहरीका अनुसार उनीहरुबीच पटकपटक अनैतिक यौन सम्बन्धसमेत रहेकाले सो विषय पतिलाई जानकारी हुनसक्ने डरले जानुकाले नरेशकुमारको हत्या गराएकी हुन् । नरेशकुमारले जानुकालाई आर्थिक सहयोगसमेत गर्ने गरेको प्रहरीले जनाएको छ ।