इटहरी: इटहरी उपमहानगरपालिकाले अघिल्लो आर्थिक वर्षमा मृत्यु भइसकेका व्यक्तिको नाममा समेत डेढ लाख रुपैँया सामाजिक सुरक्षा भत्ता भुक्तान गरेको पाइएको छ । 

उपमहानगरले वडा नम्बर १५ र वडा नम्बर २० मा मात्र मृत्यु भइसकेकाको तथ्याङ्क अद्यावधिक नगरिकनै बैंकमार्फत् सामाजिक सुरक्षा भत्ता भुक्तान गरेको देखिएको हो । सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०७७ मा भत्ता प्राप्त गरिसकेका लाभग्राहीले चालु आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नियमावलीको नियम ९ बमोजिम आफैँ उपस्थित भई वडा कार्यालयमा निवेदन दिनुपर्ने भएता पनि इटहरी उपमहानगरका वडाहरुमा यस्तो निवेदनको तालमेलसमेत नभएको महालेखापरीक्षकले गरेको लेखापरीक्षणबाट खुलेको हो ।

महालेखाले नमुनाको रुपमा सबैभन्दा बढी सेवाग्राही भएको वडा नम्बर २० र पाँचौ स्थानमा रहेको वडा नम्बर १५ को परीक्षण गर्दा लगत कट्टा गर्नुपर्ने लाभग्राहीको लगत कट्टा नगरिएको तथा नवीकरणको लागि निवेदन दिएको मिति र कागजमा दिवेदन गरेको मिति भिडाउँदासमेत प्रणालीभन्दा निवेदन दिएको मिति ६ महिनासम्म ढिलो रहेको पाएको छ । २०७७ वैशाख १६ गते मृत्यु भएका इटहरी १५ का बहादुर चौधरीकोे २०७८ फागुन सम्मै सामाजिक सुरक्षा भत्ता निकासा भइरहेको लेखापरीक्षणको क्रममा भेटिएको छ । 

सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०७७ को दफा १५ अनुसार भत्ता खाइपाई आएको कुनै व्यक्तिकोः मृत्यु भएको दिनसम्मको भत्ता मृतकका नजिकको हकवालालाई भुक्तनी दिने व्यवस्था भएता पनि इटहरी उपमहानगरका थुप्रैको सामाजिक सुरक्षा भत्ता मृत्युपश्चात् समेत भुक्तानी भइरहेको पाइएको छ । उता, २०७७ माघ १७ मा मृत्यु भएका भानुभक्त नेपाललाई २०७८ असार मसान्त सम्मको सबै रकम १७ हजार ३ सय ५५ रुपैयाँ भुत्तानी गरिएको छ ।

इटहरीकै २०७७ साउन ८ गते मृत्यु भएकी धनकुमारी श्रेष्ठको आर्थिक वर्षको सुरुमै मृत्यु हुँदा पनि लाभग्राही वडा कार्यालय नआइकनै नवीकरण गरिएको र तीन वटै चौमासिकको पूरै रकम भुक्तानी गरिएको छ । श्रेष्ठको नाममा नगरपालिकाले ३५ हजार २ सय रुपैयाँ भुक्तान गरेको छ । यस्तै, २०७७ कार्तिक २ गते मृत्यु भएका इटहरी २० का चन्द्रबहादुर तामाङ्गका नाममा पहिलो चौमासिकको पूरै रकम निकासा गरिएको पाइएको छ