इटहरीः मोरङको रङ्गेली नगरपालिका–९ मा एक पुरुषको शव फेला परेको छ ।
मृत फेला पर्नेमा सोही स्थान घर भएका ४० वर्षीय हावा मरन्डी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार आफ्नो घरदेखि करिब पाँच सय मिटर पर सडकको छेउमा घोप्टो परेको अवस्थामा मरन्डी मृत भेटिएका हुन् ।
सडकमा शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । स्थानीयको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक शैलेश न्यौपानेको नेतृत्वमा प्रहरी टोली खटी गई शव पोस्टमार्टमका लागि रङ्गेली अस्पताल पठाई घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
मरन्डीको मृत्युको कारणबारे पोस्टमार्टम रिपोर्ट आएपछि मात्र बताउन सकिने प्रहरीको भनाइ छ ।