इटहरीः सवारी ज्यान मुद्दामा तत्कालीन पुनरावेदन अदालत विराटनगरबाट सवारी ज्यान मुद्दामा कैद र जरिवानाको सजाय पाएका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका ९ का ३१ वर्षीय विनोदकुमार खवास रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार अदालतले खवासलाई २०७१ चैत ११ गते सवारी ज्यान मुद्दामा दोषी ठहर गर्दै दुई वर्ष कैद र दुई हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।

फैसलालगत्तै फरार रहेका प्रतिवादी खवासलाई आज प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूहले सुन्दरहरैँचा नगरपालिका ९ बाट पक्राउ गरेको एसपी राईले बताए । पक्राउ परेका अभियुक्त खवासलाई जिल्ला अदालत सुनसरीमा पेस गरी अदालतकै आदेशअनुसार कैद भुक्तानका लागि झुम्का कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।