इटहरीः सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–५ का ५७ वर्षीय सुब्बा कामीको हत्या गरेको आरोपमा कामीकै श्रीमती र अर्की एक जना महिलालाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पक्राउ गरेको छ ।

असार २५ गते राति श्रीमानश्रीमती सँगै सुतेकोमा २६ गते बिहान श्रीमान मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय सोलुखम्बुबाट प्रहरी टोली खटी गई अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानका क्रममा कामीलाई निजकै श्रीमती ५५ वर्षीया बुदामाया वि.क. र स्थानीय ५३ वर्षीया ङिमा तामाङले हत्या गरेको भन्ने खुल्न आएसँगै दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो । हत्याको आरोपमा पक्राउ परेका दुवै जनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।