बराहक्षेत्रः सुनसरीको बराहक्षेत्र नगरपालिका ६ चक्रघट्टीमा दुई युवाहरूबीचको सामान्य भनाभनले झगडाको रुप लिँदा एक जनाको ज्यान गएको छ । 

सोमबार राति करिब ११ः०० बजे मुनाल चोक बस्ने २५ वर्षीय सबिन तामाङले सोही स्थान बस्ने ४० वर्षीय आषीश दर्जीलाई मादक पदार्थ सेवन गरी छुरा प्रहार गर्दा आषीशको ज्यान गएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । 

छातिमा छुरा प्रहार भएका घाइते दर्जीलाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । घटनास्थलमै बोल्न नसकने अवस्थामा रहेका दर्जीको ११ः३५ बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । यता, छुरा प्रहार गर्ने सबिन तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको महेन्द्रनगरका प्रहरी निरीक्षक टीकाबहादुर कार्कीले बताए ।